Friday, June 5, 2020

नेपालबाटआज राति पेनम्ब्रल चन्द्रग्रहण देख्न सकिने!

आज सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ जसलाई नेपालबाट पनि देख्न सकिन्छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो।यो विरल छायाँजनित ग्रहण भएकोले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा यस बारेमा भेटिँदैन। पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्विकार गरिएको देखिँदैन।

ग्रहण आज राति ११ बजेर ३० मिनेटमा सुरु भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ४९ मिनेटमा सकिनेछ।

फाईल तस्बिर: गत पुष महिनामा नेपालबाट देखिएको पेनम्ब्रल चन्द्रग्रहणको दृश्य , मनिषा द्वा

के हो पेनम्ब्रल चन्द्रग्रहण?
सुर्य र चन्द्रमाको बिचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यस्तो छायाँ दुइ प्रकारका हुन्छन्: सघन तथा बिरल: यति चन्द्रमा पृथ्वीको विरल छायाँमा परेमा पेनम्ब्रल चन्द्रग्रहण लाग्छ। यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाईदैन। यस ग्रहणको बेला तस्बिर खिची केहि वैज्ञानिक परिक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यस्तो ठुलो महत्व छ।

सन् २०२० मा लाग्ने ६ वटा ग्रहणमध्ये २ वटा सुर्यग्रहण तथा ४ वटा चन्द्रग्रहण छन्। नेपालबाट भने १ सुर्य तथा ३ चन्द्रग्रहण गरी चार ग्रहण देख्न सकिनेछ। ग्रहणको प्रकृति एउटा विश्वव्यापी हुन्छ भने अर्को स्थानीय हुन्छ। जस्तै सन् २०२० को पहिलो सुर्यग्रहणको विश्वब्यापी प्रकृति वलय सुर्यग्रहण भएता पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ।

सुर्यग्रहण सम्बन्धमा: 
सन् २०२० को पहिलो सुर्यग्रहण जुन २१ तदनुसार वि. सं. २०७७ असार ७ गते आईतबारका दिन लग्नेछ। अफ्रिकाबाट सुरु भई एशियामा आएर सकिएको वलय सुर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिनेछ।नेपालमा खग्रास सुर्यग्रहण वि. सं. २०७७ असार ७ गते आईतबार बिहान  १० बजेर ५३ मिनेटमा सुरु भई १२ बजेर ४१ मिनेटमा मध्य हुनेछ भने  २ बजेर २४ मिनेटमा सकिनेछ। त्यस दिन ग्रहण हेर्न चाहनेहरुका लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो कार्यालय परिसरमा अवलोकनको विशेष व्यवस्था गर्ने तयारी गरेको थियो। तर कोभिड-१९ को महामारीले गर्दा प्रत्यक्ष प्रसारण को तयारी हुदैछ।सन् २०२० को दोस्रो तथा अन्तिम सुर्यग्रहण डिसेम्बर १४ तदनुसार वि. सं. २०७७ मङ्सिर २९ गते सोमबारका दिन लग्नेछ तर नेपालबाट भने देखिने छैन।

चन्द्रग्रहण सम्बन्धमा: 
सन् २०२० को पहिलो चन्द्रग्रहण नेपालबाट जनवरी १०/११ मा देखिएको थियो। वि. सं. २०७६ पुष २५ गते शुक्रबार राति १० बजेर ५२ मिनेट मा सुरु भई १२ बजेर ५५ मिनेटमा मध्य भएको ग्रहण राति २ बजेर ५७ मिनेटमा सकिएको थियो। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण थियो। सन् २०२० को दोस्रो चन्द्रग्रहण नेपालबाट देख्न सकिन्छ जुन आज राति लग्दैछ। ग्रहण जुन ५/६ तदनुसार वि. सं. २०७७ जेठ २३ गते शुक्रबार अर्थात्  आज राति ११ बजेर ३० मिनेट मा सुरु भई राति १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ४९ मिनेटमा सकिनेछ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो।

सन् २०२० को तेस्रो चन्द्रग्रहण जुलाई ५/६ को राति लाग्ने छ भने नेपालबाट देख्न सकिने छैन। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो। सन् २०२० को चौथो तथा अन्तिम चन्द्रग्रहण नोवेम्बर ३० तदनुसार वि. सं. २०७७ मङ्सिर १५ गते सोमबार साँझ निकै छोटो समय देखिनेछ। यो ग्रहण चंद्रोमय हुनुभन्दा पहिलेनै सुरु भैसकेको हुने र चन्द्रोदय भएको केहि समयमा नै सकिने हुनाले हेर्नको लागि कुनै डांडामा जानु उचित हुनेछ।

No comments:

Post a Comment