Saturday, August 29, 2020

सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२० को अन्तिम चरणको नजिता प्रकाशन!

 मिति: भदौ १३, २०७७


प्रेस विज्ञप्ति

सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२० को अन्तिम चरणको नजिता प्रकाशन


साउन १० देखि १६ गते सम्म संचालित ‘सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नजिता आज प्रकाशन गरिएको छ। बन्द शिविरमा नेपालका ७ वटै प्रदेशमा संचालन भएको प्रथम तथा दोस्रो चरणबाट छनौट भएका ३९ विद्यार्थीले सक्रिय सहभागीका जनाएका थिए। यस बर्ष सिनियरतर्फ सेन्ट जेभियर्स स्कुल, जावलाखेल, ललितपुरका श्री आकाश गुरुङ प्रथम भएका छन्।


कोभिड-१९ को महामारीबिच यस वर्ष बन्द शिविर भर्चुअल रुपमा सञ्चालन गरिएको थियो। बन्द शिविरमा विद्यार्थीहरुलाई स्वदेश तथा विदेशमा रहनुहुने नेपाली तथा विदेशी विषयविज्ञहरुमार्फत खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु संचालन गरिएको थियो। शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई यस बर्ष संचालन हुने विभिन्न अन्तरराष्ट्रिय एष्ट्रनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिनेछ। यस वर्ष प्रायः अन्तर्राष्ट्रिय ओलम्पियाडहरु भर्चुअल तरिकाले संचालन हुँँदैछन्। 


कोभिड-१९ को महामारीले कार्यक्रम आयोजना गर्न असहज परिस्थिति सृजना भएको भए पनि हामीले विद्यार्थीको मिहिनेत र लगनशीलता खेर जान नदिन भर्चुअल तरिकाले भएपनि बन्द शिविर सञ्चालन गरेका हौं। प्रयोगात्मक पक्षको कक्षाहरु सोचेजस्तो गर्न कठिन भएपनि अन्य पक्षहरु विगतमा भन्दा राम्रोसंग संचालन गर्न सक्षम 'राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड' मार्फत् हामीसंग जोडिनुभएको संपूर्णमा हार्दिक धन्यवाद् व्यक्त गर्न चाहन्छौं।


लकडाउन अघि यस बर्ष सञ्चालन गरिएको जुनियरतर्फ रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल, पोखरा, कास्कीका श्री सञ्जय श्रेष्ठ प्रथम भएका थिए। कार्यक्रममा कक्षा ८-१२ सम्मका १३ -१९ बर्षका नेपाली विद्यार्थीहरुले भाग लिन पाउँछन्। कार्यक्रम सम्बन्धि थप जानकारी चाहिएमा वा जिज्ञासा भएमा www.nepalastronomicalsociety.org/olympiad मा हेर्न सक्नुहुनेछ। 


धन्यवाद,


सुरेश भट्टराई 

अध्यक्ष

नेपाल एष्ट्रोनोमिकल सोसाइटी


Wednesday, August 12, 2020

आज राति ययति उल्का बर्षा !

मितिः साउन २८, २०७७



प्रेस विज्ञप्ति
ययाति उल्कावर्षा


स्विफ्ट टटल नामक पुच्छे्रताराका कारण हुने उल्कावर्षा यस वर्ष अगष्ट १२ राती देखि अगष्ट १३ को बिहानसम्म अत्याधिक मात्रामा देखिने छ । ती उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको छ ।

स्विफ्ट टटल अहिले पृथ्वीको नजिक छैन । स्विफ्ट-टटलले सुर्यको एक पटक परिक्रम गर्न १३३ वर्ष लगाउछ । तर यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छे्ताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

उल्का वर्षा स्थानीय समय अनुसार १२ अगस्टको राती १०:३० बजे देखि अगस्ट १३ बिहान ५ बजे सम्म देख्न सकिनेछ । तर अत्याधिक मात्रामा भने अगस्ट १३ बिहान ३-४ बजे देख्न सकिनेछ । यस वर्ष त्यस बेला प्रति घण्टा एक सय पचास वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० कि.मि. सम्म हुने भएकोले करिब ७० कि.मि. माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

यस वर्ष जुलाई १७ देखि नै सकृय उल्का वर्षा अगष्ट २६ तारिख सम्म सकृय रहनेछ । अत्याधिक उल्का वर्षा हुने अगष्ट १२ राती देखि अगष्ट १३ बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सकिनेछ । तर आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहे मात्र अवलोकन कार्य सम्भव हुनेछ ।


के हो त स्विफ्ट टटल ?

स्विफ्ट टटल १८६२ जुलाईमा अमेरिकन खगोलविद् द्वय लेविस स्विफ्ट (१८२०–१९१३) र होरस टटल (१८३८–१९३३) द्वारा पत्ता लगाइएको पुच्छ्रेतारा हो । ले विस सन १९९२ म सुर्यको नजिक आएको यो पुच्छ्रेतारा अब सन २१२५ मा मात्र नजिक आउनेछ। हाल यो पुच्छ्रेतारा पृथ्वीको नजिक छैन तर यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई नै उल्कावर्षा भनिएको हो ।




धन्यवाद,

सुरेश भट्टराई
अध्यक्ष
नेपाल एस्ट्रोनोमिकल सोसाइटी

नेपाल प्रतिनिधि
इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन