Thursday, December 28, 2023

प्रेस विज्ञप्ति: तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना गरिने

 मितिः पौष १२, २०८०


प्रेस विज्ञप्ति
तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना गरिने

खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव, नेपालमा राष्ट्रिय खगोल ओलिम्पियाड आयोजना गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गरेको एक दशकभन्दा लामो अनुभव, उक्त कार्यमा संलग्न तथा उत्पादित जनशक्ति एवं पछिल्लो समयमा नेपाल सरकारको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति–२०७६ तथा राष्ट्रिय शिक्षा नीति–२०७६ का आधारमा वि.सं. २०८१ साल असोज १७ देखि २४ (October 3-10, 2024) सम्म अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर (International Olympiad on Astronomy and Astrophysics-Junior) नेपालमा आयोजना गर्न पाउँदा अत्यन्तै हर्षित छौं । हाम्रो प्रस्तावलाई स्विकार गर्नुहुने अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।


वि.सं. २०७९ साल बाट शुरु भएको अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियरको नेपाल एक संस्थापक सदस्य राष्ट्र हो । प्रतियोगिताको पहिलो संकरण (IOAA-Jr 2022) रोमानिया तथा दोस्रो संकरण (IOAA-Jr 2023) ग्रीसमा आयोजना गरिएको थियो । तेस्रो संकरण (IOAA-jr 2024) को लागि हामीले अनुमति पाएका हौं । तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियरको लोगो यसै प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गर्दैछौं । साथै नेपालमा पहिलो पटक आयोजना हुन गईरहेको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

प्रतियोगिता सम्बन्धि थप जानकारी चाहिएमा लागि हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाइटी

Monday, December 18, 2023

प्रेस विज्ञप्ति: एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला!

मितिः पुष २, २०८० 

प्रेस विज्ञप्ति
एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला 

सन् २०२४ को लागि संचालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजबाट खुल्ला गरिएको छ । विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ देखि २० वर्ष उमेर समुहका विद्यार्थीले आवेदन दिन सक्नेछन् । विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१९ देखि जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिदैंछ । जस अन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११–१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन्। 

ओलम्पियाडको पहिलो चरण (छनौट परिक्षा) प्रादेशिक चरणको रुपमा यहि जनवरी २७, २०२४ (माघ १३, २०८०) शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ । ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफुलाई पायक पर्ने संबन्धित प्रदेशका हाम्रो संयोजकलाई बुझाउन सक्नेछन् । प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ । यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कन मार्फत् सहभागी विद्यार्थीहरूलाई सन् २०२४ मा संचालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स् ओलम्पियाडहरुको लागि सिफारिस गरिनेछ ।

कार्यक्रमको आवेदन फारम तथा सम्बन्धित सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध छ। कार्यक्रम सम्बन्धि जिज्ञासा तथा थप जानकारीको लागि कार्यालयको मोबाईल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद्, 
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Sunday, October 1, 2023

प्रेस विज्ञप्ति: नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने

 मिति: असोज १४, २०८०



प्रेस विज्ञप्ति
नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने

नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने सन् २००७ देखिको हाम्रो अभियानलाई अगाडी बढाउदै नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमा विद्यालयतहका विद्यार्थीहरुका लागि 'क्युब्स इन स्पेस नासो २०२३' कार्यक्रम आयोजना गर्दैछौं।


अक्टोबर २० देखि डिसेम्बर १५ सम्म संचालन हुने विषेश कार्यशालामा ११ देखि २० वर्ष उमेर समूहका विद्यालयतहमा अध्ययनरत वा विद्यालयतहको पढाइ सकेका तर विश्वविद्यालयतहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। देशभरीका विद्यार्थीहरुको पहुँच पर्याउने हेतुले कार्यक्रम अनलाइन गर्दैछौं। कार्यक्रमको समापन काठमाडौंमा आयोजना गरिनेछ। ईच्छुक विद्यार्थीहरुले असोज २३ गतेसम्म नाम दर्ता गर्न सक्नेछन्।


क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरीङ्ग डिजाईन कम्पिटिसन हो जसमा विद्यार्थीहरूले आफ्ना प्रयोगहरु (Experiments) नासा साउन्डिङ्ग रकेट तथा जेरो प्रेसर साईन्टिफिक बेलुन मार्फत् स्पेस वा नियर स्पेस ईन्भाईरोमेन्टमा पठाउन सक्नेछन्। यसको लागि विद्यार्थीहरूले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनौट भए भर्जिनिया स्थित 'क्युब्स इन स्पेस' को अफिस पठाउनुपर्ने हुन्छ।

क्युब्स इन स्पेस मा सहभागीताको लागि तयारी स्वरुप नेपालमा संचालन गरिने यस कार्यशालामा यो वर्ष जम्मा ५५ विद्यार्थी भर्ना गरिनेछ जहाँ सहभागीहरूलाई अन्तरिक्ष विज्ञान संबन्धि विभिन्न ज्ञान दिदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरूको बारेमा सिकाउनुका साथै विद्यार्थीहरुलाई प्रयोगहरु (Experiments) डिजाईन गर्न लगाइनेछ। यो कार्यक्रमबाट सन् २०२४ मा दुईवटा क्युब्स अमेरिकाको नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) बाट अन्तरिक्षमा पठाईनेछ।

सन् २०२१ मा संचालित यस कार्यक्रमको पहिलो संकरणबाट छनौट भएका दुई परियोजनाको चार क्युब अन्तरिक्ष पठाईएको थियो। उक्त क्युबहरू अन्तरिक्षबाट फिर्ता ल्याई हाल नेपाल एष्ट्रोनोमिकल सोसाइटीको बत्तीसपुतलीस्थित कार्यालयमा सुरक्षित राखिएको छ।

कार्यक्रमबारे जानकारी https://www.nepalastronomicalsociety.org/cubesinspace/ मा राखिएको छ।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी