Thursday, April 30, 2020

प्रेस विज्ञप्ति: राष्ट्रिय क्षुद्रग्रह खोज अभियान सम्बन्धमा!

मिति: वैशाख १८, २०७७


प्रेस विज्ञप्ति
राष्ट्रिय क्षुद्रग्रह खोज अभियान सम्बन्धमा!

नेपाल एष्ट्रोनोमिकल सोसाईटीले सन् २०१६ देखि नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान मार्फत नेपाली विद्यार्थी तथा शिक्षकहरुले हालसम्म ७५८ (सात सय अन्ठाउन्न) वटा क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान (Preliminary Status) गरिसकेको जानकारी गराउन चाहन्छौं। यी ७५८ प्रारम्भिक पहिचान भएका मध्ये हालसम्म ७ (सात) वटा क्षुद्रग्रहहरुले अस्थाई पहिचान (Provisional Status) पाइसकेको यहाँहरु माँझ  जानकारी गराउन पाउँदा निकै हर्षित छौं। यी सबै अस्थाई पहिचान पाउने क्षुद्रगृहहरु नेपाली विद्यार्थी तथा शिक्षकहरुले सन् २०१८ र २०१९ मा पत्ता लगाएका हुन्।

हालसम्म अस्थाई काम प्राप्त गर्न सफल क्षुद्रगृहहरु यसप्रकार छन्: २०१८ वाईएस४ (2018 YS4)२०१९  एई१८ (2019 AE18)२०१९ जेएफ६० (2019 JF60)२०१९ केबि१५ (2019 KB15)२०१९ केके१८ (2019 KK18)२०१९ केडब्ल्यु९ (2019 KW9) र २०१९ केके५ (2019 KK5)। यी सातमध्ये पहिलो छ वटा क्षुद्रग्रहहरु मेनबेल्ट एस्टेरोइड (Main Belt Asteroid) हुन् भने अन्तिम सातौं एपोलो समुहको नियर अर्थ एस्टेरोइड (Near Earth Asteroid/ Apollo Group) हो । यी क्षुद्रगृहहरु कक्षा ८ देखि स्नातकोत्तर गर्दै गरेका विद्यार्थी एवं माध्यमिक तथामा शिक्षणरत शिक्षक/शिक्षिकाहरुले पत्ता लगाएका हुन् ।

राष्ट्रिय क्षुद्रग्रह खोज अभियान अन्तर्गत भाग लिएका विद्यार्थीहरुले अमेरिकाको हवाईस्थित १.८ मीटर को टेलिस्कोपले खिचेका तस्विरहरुमा आफ्नो इन्टरनेटसहितको कम्प्युटरमा दिईएको सफ्टवेयर मार्फत खोजि गर्नु पर्ने हुन्छ । यी तस्विरहरु अमेरिका स्थित हाम्रो सहकर्मी संस्था 'इन्टरनेसनल एष्ट्रोनोमिकल सर्च कोलाबोरेशन-ई.ए.एस.सी.' ले प्रदान गर्दै आएको छ ।  सन् २०१८ देखि हामीले क्षुद्रग्रह खोज तालिम संचालन गरे संगै कार्यक्रम थप प्रभावकारी भन्दै गएको देखिएको छ। ईच्छुक जो कोहीले हाम्रो खोज टोली बनाएर अभियानमा भाग लिन आवेदन दिन सक्छन। अभियानमा भाग लिन कुनै शुल्क लाग्दैन । प्राप्त आवेदनहरुमध्ये प्रत्येक यस वर्ष देखि प्रत्येक अभियानमा १५ टोली समावेश गरिदै आएका छौं।


कार्यक्रम सम्बन्धि सम्पूर्ण जानकारीक लागि www.nepalastronomicalsociety.org/asteroidsearch हेर्नुहोला।


धन्यवाद,

सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Monday, April 27, 2020

प्रेस विज्ञप्ति: क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिक आउने सम्बन्धमा!



मिति: वैशाख १५, २०७७

प्रेस विज्ञप्ति
क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिक आउने सम्बन्धमा

सामाजिक संजालमा भईरहेका चर्चा, केहि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका अनलाइन पोर्टलमा आएका क्षुद्रग्रह १९९८ ओ.आर.२ संबन्धि समाचारहरुले नेपाली जनमानसमा पर्ने गरेको छाप प्रति हाम्रो ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं। 

प्राय: राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सबै स्तरका समाचारले यो क्षुद्रग्रह पृथ्वीदेखी नजिकै आउने बताइएको भए पनि  कति नजिक आउने हो, यसले पृथ्वीमा खतरा छ/छैन तथा नाङ्गो आँखाले देख्न सकिने/निस्किने बारे स्पष्टरुपमा बताइएको नपाईएकाले नेपाली नागरिकको सुसुचित हुन पाउने हकको सम्मान गर्दै यो विज्ञप्ति जारी गर्दछौं। साथै यसै विज्ञप्ति मार्फत् अस्पष्ट रहेका विषय स्पष्ट पार्न चाहन्छौं। आशा छ मलाई यहाहरु सबैले शेयर गरी अनावश्यक त्रासबाट नेपाली जनतालाई मुक्त राख्ने हाम्रो प्रयासमा साथ दिनुहुनेछ। 

अप्रिल २९ तारिख /वैशाख १७ गते के हुँदैछ?
यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखी सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२, ८२,००० (बैसठ्ठी लाख बयासी हजार) किलोमिटर टाढा रहनेछ। पृथ्वी र चन्द्रमाबीचको औसत दुरी करिब ३,८४,००० (तीन लाख चौरासी हजार किलोमिटर) छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा  टाढा रहनेछ। 

के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि खतरा छ त? 
यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो र त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो। यो क्षुद्रग्रहको वैज्ञानिक नाम '५२७६८' हो। कुनै पनि क्षुद्रग्रहलाई हामीले/खगोलवैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ। यो क्षुद्रग्रहको अस्थायी नाम '१९९८ ओ. आर. २ हो भने स्थायी नाम' ५२७६८' हो। विगत् तीन दशकभन्दा बढि समयदेखि निगरानीबाट प्राप्त ज्ञान अनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन। त्यसैले हाल कोहि पनि त्रसित हुनुपर्ने अवस्था होइन। 

के नेपालमा पनि यस्तो किसिमको खोजीकार्य भईरहेको छ? 
सन् २०१६ देखि हामीले नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान भाग लिएका विद्यार्थीहरुले पत्ता लगाएका र प्रारम्भिक पहिचान पाउन सफल थुप्रै क्षुद्रग्रहमध्ये हालसम्म एउटाले अस्थायी नाम पाई सुकेको छ। उक्त क्षुद्रग्रह एस. ओ. एस. सानोठिमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले सन् २०१९ मा पत्ता लगाएका हुन् जसको नाम २०१९ ए. ई. १८ हो। यसलाई नेपाली विद्यार्थीहरुले सन् २०१९ जनवरी २ तारिख पत्ता लगाएका हुन्। 

के यो क्षुद्रग्रहलाई वैशाख १७ गते /अप्रिल २९ तारिखका दिन नेपाली आकासमा नाङ्गो आँखाले देख्न सकिन्छ? 
हालैको एउटा अध्ययनले यो क्षुद्रग्रहको आकार करिब २ किलोमिटरको रहेको बताइएको छ। सुरुमा यसको आकार १.८ देखि ४.१ किलोमिटर अनुमान गरिएकोमा अरेसीबो वेधशाला ले अप्रिल १८, २०२० मा लिएको रडार तस्विरको अध्ययनबाट यो क्षुद्रग्रह करिब २ किलोमिटरको रहेको बताइएको छ। त्यसैले नजिक आउँदा पृथ्वी-चन्द्रमाको दुरीभन्दा कम्तिमा १६ गुणा टाढा रहने र करिब २ किलोमिटरको रहेकोले साथै यसको औसत् अपेरेन्ट म्याग्निच्युड करिब ११ रहेकोले नाङ्गो आँखाले यसलाई देख्न सकिदैन। यसलाई अबलोकन गर्न ठुलै खालको टेलिस्कोप आवश्यक पर्छ। 

हामी आशा गर्छौं यी सुचनाहरु क्षुद्रग्रह पृथ्वी नजिक आउने कुरालाई लिएर हाम्रो समाजमा सृजना भएको त्रास कम गर्न सहयोगी हुनेछन्। साथै आगामी दिनमा खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि सहि सुचना तथा सम्पूर्ण जानकारीका लागि हामीसंग जोडिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष 
नेपाल एष्ट्रोनोमिकल सोसाईटी