काठमाडौँ, माघ २५ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ (NAO 2026) को प्रथम चरण (प्रदेशस्तरीय) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस चरणमा सफल विद्यार्थीहरू राष्ट्रियस्तरको दोस्रो चरणका लागि छनोट भएका छन्।
To View Result, Click Here
प्रथम चरणको परीक्षा शनिबार, १७ जनवरी २०२६ मा दिउँसो १२ बजेदेखि २ बजेसम्म एकैसाथ देशभरका विभिन्न प्रदेश केन्द्रहरू— मोरङ, धनुषा, काठमाडौँ, कास्की, रुपन्देही, सुर्खेत र कैलाली—मा सञ्चालन गरिएको थियो। मूल्याङ्कनमा ३२ वा सोभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीहरू दोस्रो चरणमा प्रवेश पाएका हुन्। गत वर्षदेखि यो कार्यक्रमले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधिबाट राष्ट्रियस्तरको ओलम्पियाडको मान्यता पाएको छ । साथै मन्त्रालयसंग भएको सहमति अनुसार सह आयोजकको रूपमा राष्ट्रियस्तरको कार्यक्रम संचालन गर्न आंशिक आर्थिक तथा आवश्यक प्राविधिक सहयोग रहनेछ ।
नासोका अनुसार यस वर्षको ओलम्पियाडमा सातै प्रदेशबाट उल्लेखनीय सहभागिता देखिएको छ। सामुदायिक, निजी, आवासीय तथा विशेष विद्यालयहरूबाट आएका विद्यार्थीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन्।
कोशी प्रदेश (सिनियर) तर्फ शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुलका सिद्धान्त पराजुली प्रथम भएका छन् भने जुनियर समूह मा बाल कल्याण विद्या मन्दिरका शहवाज आलम शीर्ष स्थानमा रहे। मधेश प्रदेश मा सिनियर समूहबाट ज्ञानदा एकेडेमीका गौरव गुप्ता पहिलो भएका छन्।
बागमती प्रदेश बाट सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय चरणका लागि छनोट भएका छन्। सिनियर समूहमा काठमाडौं मोडल स्कुल, ललितपुरका आर्यन खड्का र जुनियर समूहमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका सम्पन्न दाहाल प्रथम भएका छन्।
यसैगरी गण्डकी प्रदेश मा सिनियरतर्फ मदरल्यान्ड सेकेन्डरी स्कुलका शश्वत रेग्मी, लुम्बिनी प्रदेश मा बिहान न्यौपाने, कर्णाली प्रदेश मा नमुना शाह, तथा सुदूरपश्चिम प्रदेश मा प्रशुद पन्तले सिनियर समूहमा पहिलो स्थान हासिल गरेका छन्।
नासोका अनुसार दोस्रो चरण (राष्ट्रिय स्तर) को कार्यक्रम हाइब्रिड मोड मा सञ्चालन हुनेछ। अधिकांश शैक्षिक सत्रहरू अनलाइन माध्यमबाट हुनेछन् भने आवश्यक परेमा विद्यार्थीहरूले प्रदेश समन्वयकर्तामार्फत केही गतिविधि सम्पन्न गर्नुपर्नेछ।
छनोट भएका विद्यार्थीहरूलाई फेब्रुअरी १५, २०२६ भित्र इमेलमार्फत् सहभागिता पुष्टि गर्न अनुरोध गरिएको छ। राष्ट्रिय चरणको अन्तर्गत दोस्रो र तेस्रो चरण संचालन हुनेछन् जसमा दोस्रो चरण घरैबसी दिन सकिनेछ भने तेस्रो चरणका लागि एक हप्ते बन्द शिविरका लागि काठमाडौं आउनुपर्नेछ ।
उत्कृष्ट विद्यार्थीहरू छनोट गरी अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाडका लागि नेपालको टोली तयार गरिनेछ।
