Monday, December 18, 2023

प्रेस विज्ञप्ति: एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला!

मितिः पुष २, २०८० 

प्रेस विज्ञप्ति
एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला 

सन् २०२४ को लागि संचालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजबाट खुल्ला गरिएको छ । विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ देखि २० वर्ष उमेर समुहका विद्यार्थीले आवेदन दिन सक्नेछन् । विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१९ देखि जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिदैंछ । जस अन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले जुनियरमा आवेदन दिन सक्नेछन् भने ११–१२ का विद्यार्थीले सिनियरमा आवेदन दिन सक्नेछन्। 

ओलम्पियाडको पहिलो चरण (छनौट परिक्षा) प्रादेशिक चरणको रुपमा यहि जनवरी २७, २०२४ (माघ १३, २०८०) शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ । ईच्छुक विद्यार्थीहरूले आवेदन फारम आफुलाई पायक पर्ने संबन्धित प्रदेशका हाम्रो संयोजकलाई बुझाउन सक्नेछन् । प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो चरण (राष्ट्रिय चरण) मा संबन्धित प्रदेशका विद्यार्थीहरुलाई सामेल गराइनेछ । यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कन मार्फत् सहभागी विद्यार्थीहरूलाई सन् २०२४ मा संचालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स् ओलम्पियाडहरुको लागि सिफारिस गरिनेछ ।

कार्यक्रमको आवेदन फारम तथा सम्बन्धित सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध छ। कार्यक्रम सम्बन्धि जिज्ञासा तथा थप जानकारीको लागि कार्यालयको मोबाईल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद्, 
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Sunday, October 1, 2023

प्रेस विज्ञप्ति: नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने

 मिति: असोज १४, २०८०



प्रेस विज्ञप्ति
नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने

नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने सन् २००७ देखिको हाम्रो अभियानलाई अगाडी बढाउदै नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमा विद्यालयतहका विद्यार्थीहरुका लागि 'क्युब्स इन स्पेस नासो २०२३' कार्यक्रम आयोजना गर्दैछौं।


अक्टोबर २० देखि डिसेम्बर १५ सम्म संचालन हुने विषेश कार्यशालामा ११ देखि २० वर्ष उमेर समूहका विद्यालयतहमा अध्ययनरत वा विद्यालयतहको पढाइ सकेका तर विश्वविद्यालयतहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। देशभरीका विद्यार्थीहरुको पहुँच पर्याउने हेतुले कार्यक्रम अनलाइन गर्दैछौं। कार्यक्रमको समापन काठमाडौंमा आयोजना गरिनेछ। ईच्छुक विद्यार्थीहरुले असोज २३ गतेसम्म नाम दर्ता गर्न सक्नेछन्।


क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरीङ्ग डिजाईन कम्पिटिसन हो जसमा विद्यार्थीहरूले आफ्ना प्रयोगहरु (Experiments) नासा साउन्डिङ्ग रकेट तथा जेरो प्रेसर साईन्टिफिक बेलुन मार्फत् स्पेस वा नियर स्पेस ईन्भाईरोमेन्टमा पठाउन सक्नेछन्। यसको लागि विद्यार्थीहरूले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनौट भए भर्जिनिया स्थित 'क्युब्स इन स्पेस' को अफिस पठाउनुपर्ने हुन्छ।

क्युब्स इन स्पेस मा सहभागीताको लागि तयारी स्वरुप नेपालमा संचालन गरिने यस कार्यशालामा यो वर्ष जम्मा ५५ विद्यार्थी भर्ना गरिनेछ जहाँ सहभागीहरूलाई अन्तरिक्ष विज्ञान संबन्धि विभिन्न ज्ञान दिदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षहरूको बारेमा सिकाउनुका साथै विद्यार्थीहरुलाई प्रयोगहरु (Experiments) डिजाईन गर्न लगाइनेछ। यो कार्यक्रमबाट सन् २०२४ मा दुईवटा क्युब्स अमेरिकाको नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) बाट अन्तरिक्षमा पठाईनेछ।

सन् २०२१ मा संचालित यस कार्यक्रमको पहिलो संकरणबाट छनौट भएका दुई परियोजनाको चार क्युब अन्तरिक्ष पठाईएको थियो। उक्त क्युबहरू अन्तरिक्षबाट फिर्ता ल्याई हाल नेपाल एष्ट्रोनोमिकल सोसाइटीको बत्तीसपुतलीस्थित कार्यालयमा सुरक्षित राखिएको छ।

कार्यक्रमबारे जानकारी https://www.nepalastronomicalsociety.org/cubesinspace/ मा राखिएको छ।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

Saturday, September 18, 2021

प्रेस विज्ञप्ति: कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै!


मिति: असोज २, २०७८



प्रेस विज्ञप्ति
कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै



नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) तथा विश्व विज्ञान दिवस (नोवेम्बर १०) को संदर्भ परेर संचालन गर्दै आएको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको लागि विद्यालयतहको कक्षा ६ देखि १२ सम्म अध्ययनरत ईच्छुक विद्यार्थीहरुले असोज ९, २०७८ सम्म हाम्रो वेइभसाइट मार्फत आफ्नो आवेदन दर्ता गर्न सक्नेछन।

दुवै प्रतियोगिताका लागि यो वर्षको शिर्षक 'अन्तरीक्ष विज्ञानमा महिला' तय गरिएको छ। इच्छुक विद्यार्थीहरुले यसै शीर्षकमा केन्द्रित रहेर आफ्नो रचना अनलाइन फारम मार्फत हाम्रो कार्यालयमा पठाउन पर्नेछ। यो वर्षबाट वक्तृत्वकलामा विद्यार्थीहरूको रचनात्मक प्रस्तुतिलाई स्थान दिन भिडियो संपादन गर्न छुट दिइएको छ। त्यस्तै चित्रकलाका सम्बन्धमा पनि विद्यार्थीहरुले आफ्नो रचनालाई बढीमा एक मिनटमा व्याख्या गरेको भिडियो बनाएर पठाउनुपर्नेछ। यसरी प्राप्त रचनाहरूमध्ये उत्कृष्ट रचनाहरू नेपाल एष्ट्रोनोमिकल सोसाईटीको आधिकारिक युट्युब च्यानलमा जनमतको लागि राखिनेछ। पुरस्कार संबन्धि निर्णय गर्दा ५०% जनमत तथा ५०% निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइनेछ।

प्रतियोगितामा आवेदन गरिएका रचना प्रतियोगिता अवधिभर अन्य कुनै स्थानमा सार्वजनिक गर्न पाइने छैन। यस्तो गरेको पाईएमा उक्त रचना प्रतियोगिताबाट हटाइनेछ। यी दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।

पाचौं राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन।

त्यस्तै तेस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन। प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार स्वरुप क्रमश: नगद रु १०,०००, रु ५,००० तथा रु ३,००० साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता संबन्धि नियम तथा दर्ता प्रक्रिया बारे सम्पूर्ण जानकारीका लागि www.nepalastronomicalsociety.org/spaceweek हेर्नुहोला। थप जानकारी चाहिएमा, हाम्रो कार्यालयको संपर्क नं ९८४३७०८२४८ मा संपर्क गर्नसक्नुहुनेछ।



धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाइटी