Saturday, October 24, 2020

प्रेस विज्ञप्ति: नेपाललाई दुई अनरेवल मेन्सन

मिति: कार्तिक ८, २०७७


प्रेस विज्ञप्ति:
नेपाललाई दुई अनरेवल मेन्सन

नेपालले यस वर्ष सञ्चालित ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् मा नेपालले दुईबटा अनरेबल मेन्सन अवार्ड हात पारेको छ। नेपालका लागि सेन्ट जेभियर्स कलेज, माईतिघरका श्री राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका श्री अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन्। नेपालका तर्फबाट श्री सुरेश भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट मेन्टरका रुपमा संस्थाका परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पुर्व ओलम्पियाड प्रतियोगीहरु श्री विजयचन्द्र लुईटेल तथा श्री अंकित वेन्जु श्रेष्ठ सामिल थिए। 




असोज ९ गते सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको थियो। व्यक्तिगत तथा सामुहिक गरी दुई विधामा संचालित प्रतियोगितामा नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो। प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगत तर्फ २७९ तथा सामुहिकतर्फ १५४ बाढीले भाग लिएका थिए। नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी गराइएको हो।


कोभिड-१९ को कारण कोलोम्बियामा हुने भनिएको चौधौं इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् २०२१ का लागि सारिएसंगै यस वर्ष विद्यार्थीहरुको मनोवल उच्च राख्न तथा यो विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्थरको गतिविधि कायम गर्ने प्रयास स्वरुप ईन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् को संचालक समितिले ईस्टोनियाको सरकार तथा विज्ञहरूको अनलाईन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो।


राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा अध्ययनरत कक्षा ८-१२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीहरुका लागि संचालित एक प्रतिभा पहिचान कार्यक्रम हो। सन् २०१४ देखि नेपालमा संचालित यस प्रतियोगितामा सामेल विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक तथा अवार्ड प्राप्त गरेर देश भित्र र बाहिर उच्चस्तरीय विश्वविद्यालय तथा क्याम्पसमा भर्ना भई उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्।


आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन छिटै खोलिने जानकारी पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं। आवेदन तथा थप जानकारी www.nepalastronomicalsociety.org/olympiad मा छिट्टै उपलब्ध हुनेछ।


धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी

नेपाल संयोजक
१) अफिस अफ एस्ट्रोनोमी आउटरिच
२) अफिस अफ एस्ट्रोनोमी फर एडुकेसन

ईन्टरनेसनल एस्ट्रोनोमिकल युनियन

Tuesday, October 20, 2020

प्रेस विज्ञप्ति: मृघशिरा उल्कावर्षा २०२०

मितिः कार्तिक ४, २०७७



प्रेस विज्ञप्ति: 
मृघशिरा उल्कावर्षा

हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने छ । यो पुछ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्। प्रत्येक वर्ष मे महिनामा एटा एक्वारीएट र अक्टोबरमा ओरियनिड उल्कावर्षाहरु हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण हुने गर्छ।

आजको उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्कावर्षा नाम दिइएको छ । अक्टोबर २ देखी आफ्नो सक्रियता देखाउने यो उल्कावर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ। उल्का वर्षाको अत्यधिक सक्रिय गतिविधि स्थानीय समय अनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २१ बिहान ५ः४५ बजे सम्म देख्न सकिनेछ। उल्का वर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ। अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा १५ सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६७ कि.मि. सम्म हुने भएकोले करिब ७० कि.मि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ। 

के हो उल्का वर्षा ?
पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ।

के हो हेलीको पुछ्रेतारा?
बेलायती खगोलशास्त्री ’एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षण सम्बन्धि साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डहरुको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ’हेलोको पुछ्रेतारा’ भनिएको हो। यो एक नियमित पुछ्रेतारा हो जसले हरेक ७५ बर्षमा सूर्यलाई परिक्रमा हर्ने गर्दछ! सन् १९८६ मा देखिएको यो पुछ्रेतारा अब २०६१ मा  देखिने अनुमान गरिएको छ।

कसरी हेर्ने उल्कावर्षा?
उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक छैन, सामान्य हिसाबले नाङ्गो आँखाले नै हेर्न सकिन्छ। उल्कावर्षा हेर्न धैर्यको एकदम आवश्यक हुन्छ किनकि प्रतिघण्टा दर जुन हामी भन्छौं पढ्छौं त्यो एक घण्टा अर्थात् ६० मिनेटमा देखिन सक्ने औसत उल्काको संख्या हो जुन अवलोकन स्थानको अवस्थाले पनि फरक पर्छ।

उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ यसको लागि तपाईँ घरको छत वा घर अगाडिको कुनै खुल्ला ठाउँमा जानसक्नुहुन्छ। यी दुबै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ। घरबाहिर निस्कदा सुरक्षाको पनि कुरा आउँछ। चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्नुहोला।

उल्का बर्षा वा पुछ्रेतारा सम्बन्धि थप जानकारीको लागि कार्यालयको मोबाईल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सक्नुहुनेछ।

धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष

Saturday, October 10, 2020

राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक

 मिति: असोज २४, २०७७


प्रेस विज्ञप्ति

राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक

 

नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १)  तथा विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) को संदर्भ पारेर संचालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा आज  सार्वजनिक गर्दछौं।  यी कार्यक्रममा देशका सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी बिद्यार्थीहरुले आफ्न प्रस्तुति तथा चित्रकला असोज ९ , २०७७ सम्म हाम्रो वेइभसाइट मार्फत पठाएका  थिए।

चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिएका थिए भने  दोश्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिएका थिए।

चित्रकलातर्फ यस बर्ष किड्स लर्निङ स्कुल, काठमाडौंकी कक्षा ८ मा अध्ययनरत छात्रा सुश्री रिना चौधरीले प्रथम, बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ८ मा अध्ययनरत सुश्री निती पछाइले दोश्रो तथा न्यु होराइजन सेकेन्डरी स्कुल्, बेनीमा कक्षा ६ मा अध्ययनरत श्री प्रदिप रेग्मीले तेश्रो स्थान हशिल गरेका छन्। प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन।

त्यस्तै, वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कुल, पोखराका श्री सौगत गौतमले प्रथम, टृनिटी इन्टर्नेसनल स्कुल, काठमाडौंका श्री रोहन भट्टराईले दोश्रो तथा लिटल एन्जेल्स स्कुलकी सुश्री रोमिया वैद्यले तेश्रो स्थान हशिल गरेका छन् । प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार स्वरुप क्रमश: नगद रु १०,०००, रु ५,००० तथा रु ३,००० का साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ। 

विजयी भाईबहिनीहरुलाई धेरै धेरै बधाई तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौं ।


धन्यवाद,

सुरेश भट्टराई

अध्यक्ष

नेपाल एष्ट्रोनोमिकल सोसाईटी