Monday, February 9, 2026

१३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को प्रथम चरणको नतिजा सार्वजनिक !

 काठमाडौँ, माघ २५ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ (NAO 2026) को प्रथम चरण (प्रदेशस्तरीय) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस चरणमा सफल विद्यार्थीहरू राष्ट्रियस्तरको दोस्रो चरणका लागि छनोट भएका छन्। 

To View Result, Click Here

प्रथम चरणको परीक्षा शनिबार, १७ जनवरी २०२६ मा दिउँसो १२ बजेदेखि २ बजेसम्म एकैसाथ देशभरका विभिन्न प्रदेश केन्द्रहरू— मोरङ, धनुषा, काठमाडौँ, कास्की, रुपन्देही, सुर्खेत र कैलाली—मा सञ्चालन गरिएको थियो। मूल्याङ्कनमा ३२ वा सोभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीहरू दोस्रो चरणमा प्रवेश पाएका हुन्। गत वर्षदेखि यो कार्यक्रमले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधिबाट राष्ट्रियस्तरको ओलम्पियाडको मान्यता पाएको छ । साथै मन्त्रालयसंग भएको सहमति अनुसार सह आयोजकको रूपमा राष्ट्रियस्तरको कार्यक्रम संचालन गर्न  आंशिक आर्थिक तथा आवश्यक प्राविधिक सहयोग रहनेछ । 

नासोका अनुसार यस वर्षको ओलम्पियाडमा सातै प्रदेशबाट उल्लेखनीय सहभागिता देखिएको छ। सामुदायिक, निजी, आवासीय तथा विशेष विद्यालयहरूबाट आएका विद्यार्थीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका छन्।

कोशी प्रदेश (सिनियर) तर्फ शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुलका सिद्धान्त पराजुली प्रथम भएका छन् भने जुनियर समूह मा बाल कल्याण विद्या मन्दिरका शहवाज आलम शीर्ष स्थानमा रहे। मधेश प्रदेश मा सिनियर समूहबाट ज्ञानदा एकेडेमीका गौरव गुप्ता पहिलो भएका छन्।

बागमती प्रदेश बाट सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय चरणका लागि छनोट भएका छन्। सिनियर समूहमा काठमाडौं मोडल स्कुल, ललितपुरका आर्यन खड्का र जुनियर समूहमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका सम्पन्न दाहाल प्रथम भएका छन्।

यसैगरी गण्डकी प्रदेश मा सिनियरतर्फ मदरल्यान्ड सेकेन्डरी स्कुलका शश्वत रेग्मी, लुम्बिनी प्रदेश मा बिहान न्यौपाने, कर्णाली प्रदेश मा नमुना शाह, तथा सुदूरपश्चिम प्रदेश मा प्रशुद पन्तले सिनियर समूहमा पहिलो स्थान हासिल गरेका छन्।

नासोका अनुसार दोस्रो चरण (राष्ट्रिय स्तर) को कार्यक्रम हाइब्रिड मोड मा सञ्चालन हुनेछ। अधिकांश शैक्षिक सत्रहरू अनलाइन माध्यमबाट हुनेछन् भने आवश्यक परेमा विद्यार्थीहरूले प्रदेश समन्वयकर्तामार्फत केही गतिविधि सम्पन्न गर्नुपर्नेछ।

छनोट भएका विद्यार्थीहरूलाई फेब्रुअरी १५, २०२६ भित्र इमेलमार्फत् सहभागिता पुष्टि गर्न अनुरोध गरिएको छ। राष्ट्रिय चरणको अन्तर्गत दोस्रो र तेस्रो चरण संचालन हुनेछन् जसमा दोस्रो चरण घरैबसी दिन सकिनेछ भने तेस्रो चरणका लागि एक हप्ते बन्द शिविरका लागि काठमाडौं आउनुपर्नेछ । 

उत्कृष्ट विद्यार्थीहरू छनोट गरी अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाडका लागि नेपालको टोली तयार गरिनेछ।

Tuesday, November 18, 2025

प्रेस विज्ञप्ति: २९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक !

मितिः मंसिर २, २०८२


प्रेस विज्ञप्ति

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक


२०८२ साल कार्तिक २० देखि २९ (November 6-15, 2025) सम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजित उन्नतीसौं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक हात परेको छ। प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल गोदावरीमा कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि उक्त पदक हात परेका हुन् । 


नेपाल एस्ट्रोनोमिकल सोसाइटी सन् २०१८ बाट अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदैछ । नेपालले सन् २०१९, २०२३ तथा २०२५ मा कास्य पदक हात परेका हुन् ।

सन् २०१४ बाट सुरु राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडबाट हरेक वर्ष विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडहरुमा भाग लिदै आएका छन् । 

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड के हो?

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि सिफारिश गरिदै आइएको छ। सन् २०१४ बाट संचालन गरिएको यस प्रतियोगिताबाट ३००० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परिक्षण गरिसकेका छन् भने यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थीहरु देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् । नेपालमा संचालित विभिन्न राष्ट्रिय ओलिम्पियाडमध्ये राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड कक्षा ८–१२ अध्ययनरत १३–२० वर्षका विद्यार्थीहरुलाई जुनियर तथा सिनियर विधामा छनौट गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको तर्फबाट उत्कृष्ट गर्ने सातै प्रदेशमा छनौट परिक्षा संचालत हुने एक राष्ट्रिय कार्यक्रम हो।

प्रतियोगिता सम्बन्धि थप जानकारी चाहिएमा www.nepalastronomicalsociety.org/olympiad हेर्न  वा हाम्रो कार्यालयमा सम्पर्क गर्न  सक्नुहुनेछ।


धन्यवाद,

सुरेश भट्टराई
अध्यक्ष

Friday, November 7, 2025

प्रेस विज्ञप्ति: नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO) लाई ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (IAU) को राष्ट्रिय सदस्यको रूपमा मान्यता प्राप्त ।

मिति: २०८२/०७/२१

लामो समयको अथक प्रयास पश्चात् हाम्रो देश खगोल विज्ञानको सर्वोच्च संस्था ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (IAU) को सदस्य राष्ट्रभएको जानकारी गराउन पाउँदा हामी निकै गौरवान्वित छौं । नेपालका लागि यो एक ऐतिहासिक उपलब्धि हो। अझ नेपालको प्रतिनिधित्व गर्नेसंस्थाको रूपमा नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO) लाई IAU ले राष्ट्रिय सदस्य (National Member) का रूपमा मान्यता दिएसंगै हाम्रो सन् २००७ देखिको नेपालमा संचालित कार्यक्रमहरूको औचित्य पुष्टि गर्न सफल भएकोमा हाम्रो सम्पूर्ण समुदाय थप गौरवान्वित भएका छौं ।


गत वर्ष (सन् २०२४ मा) दक्षिण अफ्रिकाको केप टाउन शहरमा सम्पन्न IAU को ३२औं महासभा (General Assembly GA XXXII)मा नेपालले आधिकारिक रूपमा Observer Status प्राप्त गरेको हो । उक्त महासभामा NASO को तर्फबाट परियोजना संयोजक मनिषा द्वाकोसहभागिता तथा प्रस्तुति रहेको थियो ।

यो सुखद् समाचार हामीलाई IAU का नवनिर्वाचित अध्यक्ष (President-elect) तथा सन् २०११ का नोबेल पुरस्कार विजेता (भौतिकशास्त्र)प्रोफेसर ब्रायन पी. श्मिड्ट (Professor Brian P. Schmidt) ले वि.सं. २०८२ साल कार्तिक १८ गते मंगलबार एकआधिकारिक ईमेल मार्फत् जानकारी गराउनु भएको हो । उहाँ लेख्नुहुन्छ "NASO संग गरिएका संवाद र पत्राचारका आधारमा IAU कार्यकारी समितिले नेपालका लागिराष्ट्रिय सदस्यका रूपमा NASO लाई चयन गरेको छ, जसले नेपालको सम्पूर्ण खगोल समुदायको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।”

यो निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय खगोल विज्ञान समुदायमा थप सशक्त रूपमा सहभागी हुन, विश्वव्यापी वैज्ञानिक सहकार्यमा योगदानदिन र खगोल तथा अन्तरिक्ष अनुसन्धानका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न मार्ग प्रशस्त गरेको छ। यो सम्पूर्ण नेपाली वैज्ञानिक समुदायका लागिगर्वको क्षण हो । IAU बाट प्राप्त यो मान्यता हाम्रो दशकौँको प्रयासको मान्यता हो र यसले हामीलाई अझ बलियो रूपमा भविष्यका अनुसन्धानकर्तार वैज्ञानिकहरू तयार गर्न प्रेरित गर्नेछ। हामी नेपालका आवाजलाई विश्व खगोल समुदायमा सशक्त रूपमा प्रस्तुत गर्न प्रतिबद्ध छौं ।

हामी सन् २००७ देखि नेपालमा खगोलशास्त्र शिक्षण, अनुसन्धान र जनचेतनाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेका छौं। हाललाईIAU बाट प्राप्त Observer Status ले नेपाललाई अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक ज्ञान आदान–प्रदान, र अन्तरिक्ष विज्ञानमा क्षमतावृद्धि गर्ने अवसरप्रदान गर्नेछ। हामीले यसलाई निकट भविष्यमा नेपाललाई IAU को Full Membership प्राप्त गर्ने दिशामा एउटा महत्वपूर्ण माइलस्टोनकारूपमा लिएका छौं ।

नेपाल तथा विदेशमा कार्यरत ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियनको व्यक्तिगत सदस्यता लिन योग्य नेपाली नागरिकहरूलाई उक्तसदस्यताको लागि आफ्नो आवेदन दर्ता गराउन हुन हार्दिक अनुरोध गर्दछौं । साथै, आवेदनका क्रममा कुनै कठिनाइ भए हाम्रो कार्यालयमा सम्पर्कगर्नुहुन अनुरोध छ । आवेदन सम्बन्धित सम्पूर्ण जानकारी तथा आवेदन फारम यहाँ https://www.iau.org/Iau/News/Ann2025/ann25022.aspx उपलब्ध छ । 

हामी आशा गर्छौं, यहाँहरूको साथ,सहयोग र सहकार्यमा हामी नेपाललाई यस क्षेत्रबाट विश्वमा थप उचाईमा पुर्‍याउन सफल हुनेछौं ।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO)