Showing posts with label Space Speech Competition. Show all posts
Showing posts with label Space Speech Competition. Show all posts

Saturday, September 18, 2021

प्रेस विज्ञप्ति: कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै!


मिति: असोज २, २०७८



प्रेस विज्ञप्ति
कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै



नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) तथा विश्व विज्ञान दिवस (नोवेम्बर १०) को संदर्भ परेर संचालन गर्दै आएको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको लागि विद्यालयतहको कक्षा ६ देखि १२ सम्म अध्ययनरत ईच्छुक विद्यार्थीहरुले असोज ९, २०७८ सम्म हाम्रो वेइभसाइट मार्फत आफ्नो आवेदन दर्ता गर्न सक्नेछन।

दुवै प्रतियोगिताका लागि यो वर्षको शिर्षक 'अन्तरीक्ष विज्ञानमा महिला' तय गरिएको छ। इच्छुक विद्यार्थीहरुले यसै शीर्षकमा केन्द्रित रहेर आफ्नो रचना अनलाइन फारम मार्फत हाम्रो कार्यालयमा पठाउन पर्नेछ। यो वर्षबाट वक्तृत्वकलामा विद्यार्थीहरूको रचनात्मक प्रस्तुतिलाई स्थान दिन भिडियो संपादन गर्न छुट दिइएको छ। त्यस्तै चित्रकलाका सम्बन्धमा पनि विद्यार्थीहरुले आफ्नो रचनालाई बढीमा एक मिनटमा व्याख्या गरेको भिडियो बनाएर पठाउनुपर्नेछ। यसरी प्राप्त रचनाहरूमध्ये उत्कृष्ट रचनाहरू नेपाल एष्ट्रोनोमिकल सोसाईटीको आधिकारिक युट्युब च्यानलमा जनमतको लागि राखिनेछ। पुरस्कार संबन्धि निर्णय गर्दा ५०% जनमत तथा ५०% निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइनेछ।

प्रतियोगितामा आवेदन गरिएका रचना प्रतियोगिता अवधिभर अन्य कुनै स्थानमा सार्वजनिक गर्न पाइने छैन। यस्तो गरेको पाईएमा उक्त रचना प्रतियोगिताबाट हटाइनेछ। यी दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।

पाचौं राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन।

त्यस्तै तेस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन। प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार स्वरुप क्रमश: नगद रु १०,०००, रु ५,००० तथा रु ३,००० साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता संबन्धि नियम तथा दर्ता प्रक्रिया बारे सम्पूर्ण जानकारीका लागि www.nepalastronomicalsociety.org/spaceweek हेर्नुहोला। थप जानकारी चाहिएमा, हाम्रो कार्यालयको संपर्क नं ९८४३७०८२४८ मा संपर्क गर्नसक्नुहुनेछ।



धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाइटी




Friday, August 13, 2021

प्रेस विज्ञप्ति: पुरस्कार वितरण कार्यक्रम संपन्न!

मिति: साउन २९, २०७८


प्रेस विज्ञप्ति
पुरस्कार वितरण कार्यक्रम संपन्न

कोभिड-१९ को कारण रोकिएको 'वर्ड स्पेस विक' संबन्धि विद्यालयतहका विद्यार्थी लक्षित दुई कार्यक्रमको पुरस्कार वितरण कार्यक्रम आज हाम्रो बत्तीसपुतलीस्थित कार्यलयको प्राङ्गणमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित विजेताहरुलाई प्रतियोगिता अनुसार पुरस्कार, प्रमाणपत्र, नगद, टेलिस्कोप तथा पदक प्रदान गरियो।


सन् २०१९ मा 'द मुन: गेटवे टु द स्टार्स' थिममा संचालित तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल, लगनखेलकी सुश्री सुएन भट्टराईले टेलिस्कोप, पटक एवं प्रमाणपत्र प्राप्त गरिन्। समारोहमा उपस्थित तथा प्रतियोगितामा तृतीय हुन सबल द सेलिब्रेसन को-एड स्कुल, जोरपाटीका श्री अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल श्री पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीकी सुश्री सरिता रम्तेलले प्रमाणपत्र एवं गिफ्ट ह्याम्पर प्राप्त गरे। त्यसैगरी सन् २०२० मा 'स्याटेलाइट्स ईम्प्रुभ लाईफ' थिममा संचालित चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल किड्स लर्निङ् स्कुल, कुमारीस्थानकी सुश्री रिना चौधरीले टेलिस्कोप, पटक एवं प्रमाणपत्र तथा द्वितीय हुन सफल बुढानिलकण्ठ स्कुल, बुढानिलकण्ठकी सुश्री निति पछाईले प्रमाणपत्र एवं पटक प्राप्त गरिन्।

कार्यक्रमको दोस्रो भागमा सन् २०१९ एवं २०२० मा संचालित राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगिताहरुलाई सम्मान गर्ने तय भएको थियो। कार्यक्रममा उपस्थित दोस्रो राष्ट्रिय अनलाईन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगिता २०२० मा द्वीतीय हुन सफल ट्रिनिटी कलेज, डिल्लीबजारका श्री रोहन भट्टराईले नगद रू पांच हजार, पदक तथा प्रमाणपत्र प्राप्त गरे।

पुरस्कार वितरण कार्यक्रममा विविध कारणले उपस्थित हुन असमर्थ विजेताहरूले हाम्रो कार्यालयमा आफ्नो संपर्क गरी आफ्नो पुरस्कार संकलन गर्न सक्नेछन्।

राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि टेलिस्कोप प्रायोजन गर्नुहुने मेक इन्जिनियरीङ्गका श्री अर्केत महर्जनज्युले यस्ता किसिमका प्रतियोगिताले विद्यार्थीको प्रतिभालाई उजागर गर्न टेवा पुर्याउने बताउनुभयो। कार्यक्रममा श्री पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीकी प्रधानाध्यापक श्रीमती रुपा मानन्धर, द सेलिब्रेसन को-एड स्कुल, जोरपाटीका उप-प्रधानाध्यापक श्री सागर दाहालज्युले नेपाल एष्ट्रोनोमिकल सोसाईटीसंगको पहिलो भेटको संझना तथा यसले विद्यालय तहका विद्यार्थी तथा शिक्षकका संचालन गर्ने कार्यक्रमहरुको प्रशंसा गर्नुभयो। कार्यक्रममा 'वर्ड स्पेस विक' का लागि नेपाल संयोजक तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी निर्देसक/परियोजना संयोजक सुश्री मनिषाद्वाले विजयी संपूर्णमा बधाई दिदै सन् २०२१ को लागि यी दुई प्रतियोगिताको आवेदन छिट्टै खुलाईने बताउनुभयो। साथै उहाँले यो वर्षको थिम 'विमिन इन स्पेस' रहेको जानकारी गराउनुभयो।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेसंगै सन २००० देखी विश्वव्यापी रुममा अक्टोबर ४-१० वा सेरोफेरोमा मनाउन थालिएको वर्ड स्पेस विक कार्यक्रम नेपाल एष्ट्रोनोमिकल सोसाईटीले आफ्नो स्थापनाकाल सन् २००७ देखी हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै राष्ट्रियस्तरमा मनाउँदै आइरहेको छ।

पुरस्कार वितरण कार्यक्रममा उपस्थित संपूर्ण विजेता तथा अभिभावकज्युहरू प्रति हार्दिक धन्यवाद् तथा बधाई दिन चाहन्छौं ।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी