Showing posts with label सोनीक बूम. Show all posts
Showing posts with label सोनीक बूम. Show all posts

Monday, March 30, 2020

प्रेस विज्ञप्ति: नेपाली आकाशमा चैत्र १३ राति देखिएको उल्का सम्बन्धमा!


मिति: चैत्र १७, २०७६


नेपाली आकाशमा यहि चैत्र १३ गते राति करिब ८:१० बजे देखिएको दृश्य तथा सुनिएको अवाज सम्बन्धमा हामीलाई प्राप्त जानकारी संगै हाम्रो टोलीले अनुसन्धान थालेको यहाँहरुलाई जानकारी नै छ। हाम्रो टोलीले प्राप्त जानकारीहरुको सुष्म अध्ययन गर्दा र यसको विज्ञानलाई बुझ्नलाई सहयोगी हुन सक्ने स्वदेशी तथा विदेशी संघसंस्थासंगको सहकार्यमा प्राप्त सूचनाका आधारमा नेपाली आकाशमा देशका विभिन्न स्थानबाट देखिएको उल्का नेपाली भूमिमा खसेको कुनै प्रमाण नभेटिएको यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं। 


नेपाली आकाशमा देखिएको चम्किलो वस्तु के थियो? 
जुन किसिमले नेपालका धेरै भू-भागबाट देखियो र गण्डकी प्रदेशमा चर्को आवाज पनि सुनियो, त्यस हिसाबले यसलाई बोलाईड भनिन्छ। यो सामान्य उल्कावर्षाको समयमा देखिने उल्का (जुन मिलिमिटर वा त्यो भन्दा साना हुन्छन र पृथ्वीको वायुमण्डलमा घर्षण भई नस्ट हुन्छन) भन्दा निकै ठुलो (व्यास केहि सेन्टिमिटर देखि मिटरसम्म) हुन्छ। यसरी पृथ्वीतिर आउने बोलाईड पृथ्वीको सतहमा यसको वायुमण्डललाई पार गर्दै आउने हुँदा घर्षणको कारणले पैदा हुने ताप र चापको कारणले कठोर बन्ने हुँदा पृथ्वीको सतहमा आईपुग्दा फलाम भन्दा नि बलियो हुन्छ। तसर्थ, नेपालको कुनै भूभागमा यो वस्तु खसेको भए यसले एक किसिमको कम्पन पनि पैदा गर्ने थियो। तर राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रबाट प्राप्त सूचना अनुसार त्यस्तो भेटिएन। 


नेपालको गण्डकी प्रदेशका बासिन्दाले सुनेको चर्को आवाज के थियो? 
यस किसिमको बोलाईड पृथ्वीतिर तिव्रगतिमा (ध्वनिको गति भन्दा धेरै) आउँदा पृथ्वीको सतहभन्दा करिब १०० किलोमिटरमाथि तिर एउटा अवाज जन्मन्छ जसलाई हामी 'सोनीक बूम' भन्दछौं। उक्त रात, गण्डकी प्रदेशमा जुन आवाज सुनियो, त्यो यहि सोनीक बूम भएको जानकारी गराउदछौं। यस्तो आवाज यसरि सुनिन्छ कि मानौं उक्त बस्तु तपाई को वरिपरि नै खसेजस्तो हुन्छ। उक्त घटना पश्चात सुरु गरिएको हाम्रो अनुसन्धानले यो वस्तु गण्डकी प्रदेशमा नखसेको पुस्टि भैसकेको जानकारी गराउदछौँ। तसर्थ यस घटनाबाट यदि तपाई त्रसित हुनुहुन्छ भने त्यस्तो त्रास र अन्योलबाट मुक्त हुन हार्दिक अनुरोध गर्दछौं। 

नेपालमा यस्ता किसिमका आकाशीय घटनालाई निरीक्षण गर्ने कुनै विशेष संयन्त्र नभईरहेको अवस्थामा पनि हामी हाम्रो राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रहेका सम्बन्धित तथा संलग्न संघसस्थासंग सहकार्य गर्दै नेपाली जनतालाई सुसुचित गर्ने कार्यमा निरन्तर लागि रहनेछौं। साथै,आगामी दिनमा यस्ता घटनालाई निरीक्षण गर्ने संयन्त्र निर्माणतर्फ कार्य गर्न अग्रसर रहनेछौं। 

यस घटनालाई यहाँहरुमाँझ थप प्रस्ट पर्न हाम्रा स्पेस रोबोटिक्स संयोजक ई. सुदिप भट्टराईले तयार पर्नु भएको दृष्टान्त (illustration) तल दिईएको छ।


साथै नेपालसंगै सारा विश्वनै कोभिड-१९ को महामारीसंग जुधिरहेको यस विषमघडीमा नेपाल सरकारले लागु गरेको 'लकडाउन' को पालना गर्दै नेपालमा यो महामारी फैलिन रोक्नलाई सहयोग गर्नु हुन समेत यसै विज्ञप्ति मार्फत हार्दिक अपिल गर्दछौं। 

यहाँहरुले यस संस्थाप्रति देखाउनु भनेको माया, साथ र सहयोगको लागि हार्दिक आभार प्रकट गर्दछौं। साथै यस्तै प्रकृतिका वा अन्य कुनै खगोल वा अन्तरिक्ष सम्बन्धि विषयमा अभ्यस्त हुनको लागि हाम्रो 'भाईबर समुदाय (' मा आबद्ध हुन सम्पूर्ण ईच्छुक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं। 


सुरेश भट्टराई 
अध्यक्ष 
नेपाल एष्ट्रोनोमिकल सोसाईटी 

राष्ट्रिय जनसम्पर्क संयोजक-नेपाल 
ईण्टरनेसनल एष्ट्रोनोमिकल युनियन