Wednesday, March 19, 2025

गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंमा सफलतापूर्वक सम्पन्न

-काठमाडौं, चैत ५, २०८१

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (NASO) द्वारा आयोजित गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंको नासा कलेज, तिनकुने मा सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल तथा फ्रान्समा स्थित शिक्षाका लागि खगोल कार्यालयहरुको सहकार्यमाआयोजित यस तालिमले नेपालमा खगोलशास्त्र शिक्षालाई प्रवर्द्धन गर्ने तथा विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइ विधिहरू समावेश गर्ने लक्ष्य राखेको थियो।


तालिममा बागमती, मधेश र कोशी प्रदेशका १४ विद्यालय तथा संस्थाका २१ शिक्षक तथा शिक्षिकाहरू सहभागी भए। दुई-दिनसम्म चलेको कार्यक्रममा ग्रहहरूको कक्षीय गतिको अध्ययन, अन्तरक्रियात्मक गतिविधिहरू तथा गतिशील मानव सौर्य मण्डल प्रयोग गरेर ग्रहहरूको गति बुझ्ने कार्यशाला समावेश गरिएको थियो।



तालिम तीन जना स्रोत व्यक्तिहरू द्वारा सञ्चालन गरिएको थियो:

  • इमानुएल रोलिन्डे, प्रबन्धक, शिक्षाका लागि खगोल कार्यालय, फ्रान्स

  • सुरेश भट्टराई, प्रबन्धक, शिक्षाका लागि खगोल कार्यालय, नेपाल

  • मनिषा द्वा, उप-प्रबन्धक, शिक्षाका लागि खगोल कार्यालय, नेपाल



कुल २१ सहभागीहरूमध्ये ७ पुरुष र १४ महिला थिए, जसले STEM शिक्षामा महिलाको सशक्त उपस्थिति दर्शाउँछ। कार्यक्रममा विद्यालय शिक्षामा खगोलशास्त्रलाई कसरी समावेश गर्ने, ग्रहहरूको गतिशीलता बुझाउने व्यावहारिक कार्यशालाहरू, तथा शिक्षकहरूलाई गतिशील मानव सौर्य मण्डल निर्माण र प्रयोग गर्ने सीप प्रदान गरिएको थियो।

यस तालिमले शिक्षकहरूलाई नवीनतम शिक्षण प्रविधिहरू अपनाउन प्रेरित गर्ने र विद्यार्थीहरूमा खगोलशास्त्र तथा अन्तरिक्ष विज्ञानप्रति रुचि बढाउने अपेक्षा गरिएको छ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (NASO)
P.O. Box 3649, काठमाडौं, नेपाल
📞 +९७७-९८४३७०८२४८
📧 info@naso.org.np

Wednesday, January 3, 2024

प्रेस विज्ञप्ति: भूतप उल्का वर्षा

मितिः २०८०/०९/१८

प्रेस विज्ञप्ति
भूतप उल्का वर्षा

सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ०४–०५ (पुस १९–२०, २०८०) का रातमा अत्याधिक मात्रामा हुनेछ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ ।

भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसै देखि अत्याधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजे देखि भोलिपल्ट अर्थात् विहान पुस २० गतेको सुर्याेदय भन्दा अगाडि हेर्न सकिनेछ। अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्नेछन्। अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० कि.मि माथि वायुमण्डलमा देखिनेछन् ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको वा तारा पोइल गएको पनि भनिन्छ ।

धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष

Thursday, December 28, 2023

प्रेस विज्ञप्ति: तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना गरिने

 मितिः पौष १२, २०८०


प्रेस विज्ञप्ति
तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना गरिने

खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव, नेपालमा राष्ट्रिय खगोल ओलिम्पियाड आयोजना गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गरेको एक दशकभन्दा लामो अनुभव, उक्त कार्यमा संलग्न तथा उत्पादित जनशक्ति एवं पछिल्लो समयमा नेपाल सरकारको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति–२०७६ तथा राष्ट्रिय शिक्षा नीति–२०७६ का आधारमा वि.सं. २०८१ साल असोज १७ देखि २४ (October 3-10, 2024) सम्म अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर (International Olympiad on Astronomy and Astrophysics-Junior) नेपालमा आयोजना गर्न पाउँदा अत्यन्तै हर्षित छौं । हाम्रो प्रस्तावलाई स्विकार गर्नुहुने अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।


वि.सं. २०७९ साल बाट शुरु भएको अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियरको नेपाल एक संस्थापक सदस्य राष्ट्र हो । प्रतियोगिताको पहिलो संकरण (IOAA-Jr 2022) रोमानिया तथा दोस्रो संकरण (IOAA-Jr 2023) ग्रीसमा आयोजना गरिएको थियो । तेस्रो संकरण (IOAA-jr 2024) को लागि हामीले अनुमति पाएका हौं । तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियरको लोगो यसै प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गर्दैछौं । साथै नेपालमा पहिलो पटक आयोजना हुन गईरहेको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

प्रतियोगिता सम्बन्धि थप जानकारी चाहिएमा लागि हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाइटी